राजनीति
केजरीवालको हार पछि दिल्लीमा ,भाजपाको सरकार बन्ने निश्चित I
भारत, दिल्ली ! दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दिल्ली विधानसभा निर्वाचनमा हार व्यहोरेका छन् ।
केजरीवाल बीजेपी उम्मेदवार प्रवेश बर्मासँग पराजित भएका हुन् । केजरीवालसँगै आपका नेता मनीष सिसोदिया पनि जंगपुरामा पराजित भएका छन्। उनले जनताको निर्णयलाई सम्मान गर्ने बताउँदै भिडियो सन्देशमार्फत भारतीय जनता पार्टीलाई बधाई दिए ।
उक्त भिडियो सँदेशमा उनले विगतको १० वर्षमा दिल्लीको शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारमा सुधारको प्रयास गरेको र अबका दिनमा पनि जनताका मुद्दाबाट टाढा नबस्ने बताएका छन् । दिल्लीमा २७ वर्षपछि फेरि भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने निश्चित देखिएको छ ।
भाजपा अहिले ३८ सिटमा अगाडि छ भने आप २७ सिटमा अगाडि छ । राष्ट्रिय राजधानीमा सरकार गठनका लागि बहुमतको सिट ३६ रहेको छ ।
निर्वाचन आयोगको प्रारम्भिक प्रवृत्तिका अनुसार भारतीय जनता पार्टीले दिल्ली विधानसभा चुनावको नतिजामा बहुमतको सिट पार गरेको छ । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनले नेतृत्व गरेको आम आदमी पार्टी (आप) को शासन रहेको छ ।