राजनीति
सु.प प्रदेश का पूर्वमुख्यमन्त्री तथा एमाले नेता रावललाई कानुन बिपरित गाडी सुविधा !
कैलाली,सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नियमविपरीत प्रदेश सरकारबाट गाडी सुविधा लिइरहेका छन् ।
पूर्वमुख्यमन्त्री एवं सत्तापक्षमा रहेको दलको नेताको हैसियतले उनले सरकारी गाडी प्रयोग गर्दै आएका हुन् । तर, पूर्वमुख्यमन्त्री र सत्तापक्षमा रहेको दलको नेतालाई गाडी सुविधा दिने व्यवस्था ऐनमा छैन । रावलले गत असारदेखि आर्थिक मामिला मन्त्रालयको बा.१झ १४४७ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए । उक्त गाडी बिग्रिएपछि पुस अन्तिमदेखि रावलले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडी प्रयोग गरिरहेका छन् ।
प्रदेश ०१–००१झ३१८ सरकारी नम्बरको गाडी आन्तरिक मामिलाले प्रदेशमा आउने विशिष्ट व्यक्तिको स्वागतका लागि प्रयोग गर्न खरिद गरेकोे थियो । पूर्वमुख्यमन्त्री र सत्तापक्षका दलका नेतालाई प्रदेश सरकार र प्रदेश सभाबाट सवारीसाधन उपलब्ध गराउने कानुनी व्यवस्था छैन । मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनमा मुख्यमन्त्रीलाई दुई, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री एक–एकवटा सवारीसाधन उपलब्ध गराउने व्यवस्था छ । त्यस्तै, प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा सभामुख, उपसभामुख, विषयगत समितिका सभापति, प्रमुख प्रतिपक्ष दलका नेता, सत्तापक्षका प्रमुख सचेतकलाई प्रदेश सभाले सवारीसाधन सुविधा उपलब्ध गराउने व्यवस्था छ ।
कांग्रेस नेतृत्वको सरकारमा एमालेसहित नागरिक उन्मुक्ति पार्टी सहभागी छन् । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले कानुन र सरकारको निर्णय नभए पनि पूर्वमुख्यमन्त्री र दलको नेता भएकाले व्यावहारिक रूपमा गाडी दिएको बताए । सार्की एमालेबाट मन्त्री बनेका हुन् । सार्वजनिक बिदाको दिन अनुमति नलिएर गाडी चलाएको भन्दै पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल सवार सरकारी गाडी कञ्चनपुरको दैजीमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र स्थानीयले शनिबार बिहान रोकेका थिए ।
नियमविपरीत सरकारी गाडी सुविधा लिइरहेका रावलको दबाबमा गाडी रोक्ने एक स्थानीयलाई प्रहरीले करिब तीन घण्टा नियन्त्रणमा राखेको थियो ।रावलले आफूमाथि दुव्र्यवहार भएको बताएपछि कञ्चनपुर प्रहरीले दैजीका स्थानीय व्यवसायी ४७ वर्षीय केशवराज पन्तलाई नियन्त्रणमा लिएर छोडेको हो । प्रहरीले शनिबार साँझ रास्वपा नगर सभापति डम्बरराज भट्टको जिम्मा लगाएर छाडेको थियो । शनिबार बिदाको दिन चलाउन अनुमति नरहेको भन्दै रास्वपा कार्यकर्ता र स्थानीयले रावल चढेको गाडी रोक्न खोजेका थिए । त्यस क्रममा विवाद भएको थियो ।
‘बिदाको दिन सरकारी गाडी दुरुपयोग हुने भएकाले प्रशासनको सहकार्यमा अनुमति लिएको छ÷छैन भनेर जाँच गथ्र्यौँ, यसमा स्थानीय पनि सहभागी हुँदै आएका थिए,’ भट्टले भने, ‘अनुमति नलिएर बिदाको दिन गाडी चलाएको भनेर रोक्न खोज्दा पूर्वमुख्यमन्त्रीले मलाई चिनेको छ भनेर उल्टै धम्क्याउनुभयो ।’ भट्टका अनुसार शनिबार बिहान राजमार्गमा आएका दुईवटा सरकारी गाडीमध्ये भीमदत्त नगरपालिकाका मेयरले चढ्ने गाडीसँग शनिबार चलाउने अनुमति थियो ।
स्रोत: नयां पत्रीका दैनिक....