विश्व
नेपाल लाई सम्पत्ति शुद्धीकरणमा दुई वर्षका लागि ‘ग्रे लिस्ट’ मा राख्ने एफएटीएफको निर्णय ।
काठमाडौँ ।
नेपाल ‘ग्रे लिस्ट’मा परेको छ । सम्पत्ति शुद्धीकरणसँग सरोकार राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को लिस्टमा नेपाल ग्रे लिस्टमा परेको हो ।
ग्रे लिस्ट भनेको एफएटीएफको मध्यमस्तरको निगरानी सूची भन्ने बुझिन्छ । फ्रान्सको राजधानी पेरिसमा जारी एफएटीएफको बैठकले नेपाललाई आगामी दुई वर्षका लागि ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो । मूल्यांकनका प्रक्रियामा सहभागी अधिकारीहरूका अनुसार नेपाल ग्रे लिस्टमा परेको र त्यसको औपचारिक घोषणा केही समयमा हुने बताए ।
गैरकानुनी आर्थिक क्रियाकलाप नियन्त्रण गर्न सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित सबै कानुनी आधार तयार नभएको भन्दै एफएटीएफले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको हो । एफएटीएफले सम्पत्ति शुद्धीकरण र गैरकानुनी आर्थिक क्रियाकलाप निवारणका लागि अन्तर्राष्ट्रिय मापदण्ड तयार गर्छ। सो मापदण्ड पुरा नगर्ने राष्ट्र एफएटीएफको ग्रे लिस्टमा पर्छन् ।
ग्रे लिस्टमा पर्ने देशहरु उच्च निगरानीमा हुन्छन् भने तिनीहरूले आफ्नो कमजोरीहरू सम्बोधन गर्न विशेषज्ञहरूसँग नियमित परामर्शमा सहभागी हुनुपर्छ । त्यस्तै ति देशहरुले पटकपटक आफ्नो बित्तिय प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ । कुनै पनि देश ग्रे लिस्टमा पर्नु भनेको तिनीहरूको अन्तर्राष्ट्रिय प्रतिष्ठा क्षतिग्रस्त छ भन्ने बुझिनु हो । ग्रे लिस्टमा पर्ने देशहरुले विदेशी लगानी आकर्षित गर्न र अन्तर्राष्ट्रिय व्यापारमा भाग लिनमा समस्या उत्पन्न गराउन सक्छ ।
नेपाल वि.सं २०५९ मा एफएटीएफको सदस्य बनेको थियो । सदस्य राष्ट्रहरुले एपएटीएफका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्नुपर्ने हुन्छ । नेपाल यसअघि सन् २००८ देखि २०१४ सम्म एफएटीएफको ग्रे लिस्टमा थियो । सन् २०१४ मा सम्पत्ति शुद्धीकरण निवारण ऐन २००८ मा संशोधन गरेपछि नेपाल ग्रे लिस्टबाट हटेको थियो ।